Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

सर्लाहीमा बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबान

सर्लाही सम्वादाता, २२ साउन। सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेको छ। लखन्देही खोलाको बाँध भत्किए पछि आएको बाढीले भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।
सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो । कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं ५ भाडसरमा ३ सय बिघा धानखेत डुबानमा परेको छ ।
भाडसरका मुमताज मिकरानीले बस्ती र खेत लगातार डुबानमा रहेकाले दैनिक जीवन प्रभावित भएको बताए । स्थानीय मोहम्मद समिम अख्तरका अनुसार सदरमुकाम मलङ्गवा जोड्ने सडक समेत प्रभावित भएको बताए । ‘
बाढीले कटान गरेको छपकैयामा बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माणको काम थालेका छन् । बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास गरिएको छ ।

छपकैयाका किसान मोहम्मद इलयास खानले आठ कठ्ठामा रोपेको धान डुबानमा परेको सुनाए । ‘भर्खरै रोपेको धान पानीमुनि छ । यसपालि धान नै नहुने हो कि भन्ने डर छ,’ उनले भने, ‘दश वर्षदेखि यही समस्या भोगिरहेका छौं । खेतमात्र होइन, घरसमेत डुबानमा पर्छ ।’

अर्का किसान रामकिशुन यादव दीर्घकालीन समाधानका स्थायी तटबन्ध निर्माण गर्नुपर्ने बताउँछन् । ‘गत वर्ष पनि बाँध भत्किँदा डेढ बिघा धानबाली नष्ट भयो । आश्वासन मात्रै पाइयो, क्षतिपूर्ति पाएन,’ उनले भने ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले लखन्देहीको कटान र डुबान नयाँ समस्या नभएको बताए । ‘हरेक वर्ष कुनै न कुनै ठाउँमा कटान हुन्छ । गाउँपालिकाले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गरेको छ,’ उनले भने, ‘तर दीर्घकालीन समाधानका लागि ठूलो बजेट आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।’
मलङ्गवा–५ भाडसरका श्याम रायले बाँध निर्माण भए पनि आफूहरूले कहिल्यै सुरक्षित महसुस गर्न नसकेको बताए । ‘१५ वर्षदेखि बाँध भत्किने र गाउँ डुबानमा पर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘खेतीपातीमा पटक–पटक क्षति हुँदा उत्पादनसमेत घट्दै गएको छ ।’
अर्का स्थानीय जमशेद मियाँले भने, ‘पानी निकासको उचित व्यवस्था नहुँदा समस्या दोहोरिरहन्छ। यति ठूलो डुबान हुँदा पनि सरोकारवाला निकायको उपस्थिति देखिएको छैन ।’

मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीका अनुसार वडामा मात्र तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ । त्यस्तै, वडा नं ६ का वडाध्यक्ष राम कैलाश यादवले पाँच सय बिघाभन्दा बढी खेत प्रभावित भएको बताए ।
उनका अनुसार बाँध भत्किएलगत्तै नियन्त्रणको प्रयास थालिएको छ र सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा तटबन्ध निर्माण भइरहेको छ । बाढीले खेतमात्र होइन, केही घर र गोठसमेत प्रभावित भएका छन् ।