२९ असार । आज भानु जयन्ती नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको स्मरणमा प्रत्येक वर्ष असार २९ गते मनाइने विशेष दिवस हो। यस दिन नेपाल तथा विश्वभर रहेका नेपाली समुदायले भानुभक्तको साहित्यिक योगदानको सम्मान गर्दै विभिन्न कार्यक्रम आयोजना गर्छन्।
भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। उहाँले संस्कृतमा रहेको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। यस कार्यले नेपाली भाषाको विकास र विस्तारमा ठूलो योगदान पुर्यायो। उहाँका अन्य रचनाहरूमा बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला लगायतका कृतिहरू प्रसिद्ध छन्।
भानु जयन्तीका अवसरमा विद्यालय, कलेज, साहित्यिक संस्था तथा विभिन्न संघ–संस्थाहरूले कविता वाचन, निबन्ध लेखन, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा भानुभक्तको प्रतिमामा माल्यार्पण जस्ता कार्यक्रम सञ्चालन गर्छन्। यी कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति प्रेरित गर्न मद्दत गर्छन्।
भानु जयन्ती केवल एउटा जन्मजयन्ती मात्र होइन, नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानप्रतिको सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर पनि हो। यस दिनले हामीलाई आफ्नै भाषा र साहित्यको संरक्षण, विकास र प्रवर्द्धन गर्न प्रेरणा दिन्छ।