शम्भु चौधरी लहान २४ असार । ९६ प्रतिशत साक्षर सहित लहान नगरपालिका सिरहा जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा भएको छ। बुधबार आयोजित एक विशेष समारोहमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी भई साक्षर नगरपालिका घोषणा गरेका हुन्।
प्रमुख अतिथि सिंहले लहान नगरपालिकालाई सिरहाको पहिलो साक्षर नगरपालिका बन्न सफल भएकोमा बधाई दिएका छन । प्रदेश सरकारले शिक्षा क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखे ता पनि यहाँका अधिकांश आर्थिक बागमति प्रदेश तथा कोशी प्रदेशमा गईरहेको बताए । मन्त्री सिंहले प्रदेशका ८ वटै जिल्लामा मुसरह तथा वाँतर जातीको विशेष शिक्षाको व्यवस्था गर्ने बताए । सिरहा भरीका जम्मा ८७ वटा विद्यालयमा ‘मोडेल किचेन’ स्थापना गर्ने लक्ष्य रहेको साथै प्रदलेश भरीमा ५ सय स्वयंम सेवक शिक्षक भर्ना गर्ने लक्ष्य रहेको बताए। उनले प्रदेशभर करिब ३ हजार २ सय सामुदायिक विद्यालय रहेको उल्लेख गर्दै सीमित बजेटका बाबजुद शिक्षा क्षेत्रमा सुधारका प्रयास जारी राख्ने प्रतिबद्धतन जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो, शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनाल, नगरपालिकाका २४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, शिक्षक, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख अमिरी यादवले साक्षर अभियानको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले सञ्चालन गरेका साक्षरता अभियान, अन्तरगत आ व २०८०।८१ मा ९ वडा र २०८१।८२ मा १५ वडा गरी जम्मा २४ वटा वडा साक्षरता घोषित भईसकेको बताए । कार्यक्रममा उपस्थित सम्पूर्ण जनप्रतिनिधि तथा सरोकारवालाले ‘साक्षर प्रतिबद्धता’ पत्रमा हस्ताक्षर समेत गरेका थिए।
नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताका अनुसार सिरहा जिल्ला अझै पनि शैक्षिक सूचकांकमा देशको ७२औँ स्थानमा रहेको बताए । साक्षर घोषणा कागजमा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनु पर्नेमा जोड दिँदै सञ्चार क्षेत्रले यस अभियानलाई सफल बनाउन आवश्यक सकारात्मक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाए।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनालले लहान नगरपालिकालाई बधाई दिँदै देशका ६८ जिल्ला साक्षर घोषणा भइसकेको बताए । लहानको सफलताले जिल्लाका अन्य स्थानीय तहलाई पनि साक्षर अभियान अघि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
साक्षर अभियान घोषणा कार्यक्रम लहान नगर प्रमुख महेश प्रमाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।