लहान २० असार । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। “बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार समृद्ध खडकको आधार” भन्ने मूल नारासहित शुक्रबार नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष समारोहबीच मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले घोषणा–पत्र वाचन गर्दै नगरपालिकालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन्।
मुख्यमन्त्री यादवले पछिल्लो समय बालबालिकामा लागूऔषध दुर्व्यसनको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित हेरचाह, निगरानी तथा उचित मार्गदर्शन गर्न आग्रह गरे। उनले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउने अभियानलाई थप प्रभावकारी बनाइने पनि बताए।
कार्यक्रममा खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले बालमैत्री स्थानीय शासनका सबै ५१ सूचक सफलतापूर्वक पूरा गरेपछि मात्रै नगरपालिकाले यो सम्मान प्राप्त गरेको जानकारी दिए। उनले यो उपलब्धि नगरपालिकाको मात्र नभई सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विद्यालय, अभिभावक, बाल क्लब तथा विभिन्न साझेदार संस्थाहरूको संयुक्त प्रयासको परिणाम भएको बताए।
बालबालिकाको अधिकार, संरक्षण, सहभागिता तथा समग्र विकासलाई स्थानीय शासन प्रणालीको केन्द्रमा राख्दै आवश्यक ५१ वटै सूचक पूरा गरेपछि खडक नगरपालिका यो उपलब्धि हासिल गर्न सफल भएको हो। यससँगै नगरपालिका मधेश प्रदेशमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने दोस्रो स्थानीय तहका रूपमा स्थापित भएको छ।
घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले खडक नगरपालिकाले हासिल गरेको उपलब्धि सम्पूर्ण मधेश प्रदेशका लागि प्रेरणादायी भएको बताए। उनले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा सुरक्षित भविष्य सुनिश्चित गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नगरप्रमुख चौधरीले आगामी दिनमा नगरपालिकाले बनाउने नीति, योजना, बजेट तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने उल्लेख गर्दै बालमैत्री वातावरणलाई अझ संस्थागत र दिगो बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाइने बताए।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माला कर्ण ले बालमैत्री स्थानीय शासन घोषणा गर्नु मात्रै पर्याप्त नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन्। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तह, अभिभावक, विद्यालय तथा समुदायबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिइन्।
त्यसैगरी श्यामकृष्ण थापा, अग्निसाइर कृष्णासवरण गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी, खडक नगरपालिका वडा नं। १० का अध्यक्ष राजेन्द्र चौधरी तथा मधेश प्रदेश बाल क्लब सञ्जालका अध्यक्ष निरज साह ले बालमैत्री स्थानीय शासनका सूचकहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा खडक नगरपालिकाकी उपप्रमुख रिता चौधरीले स्वागत मन्तव्य राख्दै बालबालिकामैत्री समाज निर्माणका लागि नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमहरूको चर्चा गरिन्। उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता तथा संरक्षणका क्षेत्रमा नगरपालिकाले निरन्तर काम गर्दै आएको उल्लेख गरिन्।
खडक नगरपालिका कार्यपालिकाको आयोजनामा सम्पन्न घोषणा समारोहमा क्बखभ तजभ ऋजष्मिचभल, सबल नेपाल तथा नगर बाल क्लबको समन्वय र सहकार्य रहेको थियो। नगरपालिकाकी बाल कल्याण अधिकारी अनिता कुमारी साहका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका सदस्य, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। बालमैत्री स्थानीय शासनले बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सुरक्षित वातावरण, सहभागितामूलक निर्णय प्रक्रिया तथा समावेशी विकासलाई प्राथमिकता दिने भएकाले खडक नगरपालिकाको यो उपलब्धिलाई स्थानीय शासन प्रणालीमा एक ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।