शम्भु चौधरी, लहान, १२ असार । सिरहाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र लहान १२ र २२ मा पर्ने सलहेश फूलबारी मन्दिरबाट घण्टी चोरी भएको छ । यस्ता खबरले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
यो घटना केवल एउटा घण्टी हराएको विषय मात्र नभई धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सुरक्षा माथिको चुनौतीको रूपमा समेत हेरिएको छ।
यति चर्चित र श्रद्धाको केन्द्र मानिने स्थलमै चोरी गर्ने साहस कसरी भयो, कसैको आस्था र विश्वासमाथि प्रहार गर्ने यस्ता गतिविधिले समाजलाई कता लैजान खोजेको छ ।
स्थानीयहरूका अनुसार सलहेश फूलबारीको महत्त्व केवल धार्मिक मात्र नभई ऐतिहासिक र सांस्कृतिक पनि छ। त्यसैले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ। नेपाल प्रहरीसमक्ष पनि यो घटनाको सत्यतथ्य बाहिर ल्याउने चुनौती थपिएको छ।
लोककथामा राजा सलहेश, देउना मालिन र यस क्षेत्रका अनेक किंवदन्तीहरू जोडिए पनि वास्तविक जीवनमा यस्ता घटनाको समाधान कानुन र जिम्मेवार निकायबाटै हुनुपर्छ। आस्था र सम्पदाको संरक्षण सबैको साझा दायित्व भएकाले स्थानीय समुदाय, सरोकारवाला निकाय र सुरक्षा संयन्त्र एकजुट हुनुपर्ने आवश्यकता देखिएको फुलवारीका पुजारी मनोज सिंह दनुवारले बाताए।
धार्मिक स्थलमा भएको चोरीको घटनालाई सामान्य रूपमा होइन, सांस्कृतिक सम्पदा माथिको प्रहारका रूपमा लिएर गम्भीर अनुसन्धान र दोषीमाथि कडा कारबाही हुनुपर्ने पुजारी दनुवारले बताए ।