लहान, ३ असोज । २०८२ साल वैशाख २४ गते लागुऔषध मुद्दामा पक्राउ परेका सिरहाको धनगढीमाई नगरपालिका–२ धनगाडा बस्ने मोहम्मद सलमत राइन र मोहम्मद असफाक राइनले देशको कानुन प्रतिको आस्था देखाउँदै पुनः कारागार फर्किएका छन्। यी दुवै युवा महोत्तरीस्थित जलेश्वर कारागार चलान भएका थिए।
तर भर्खरै सम्पन्न जेन्जी आन्दोलनका क्रममा कारागार प्रशासनले उनीहरूको ज्यान सुरक्षाको कारण परिवारको जिम्मामा घर पठाएको थियो। आन्दोलनको उग्र रूपलाई मध्यनजर गर्दै कारागार प्रमुखले स्थानीय अगुवासँग अनुरोध गरी उनीहरूलाई अस्थायी रूपमा घर पठाएका थिए।
मोहम्मद सलमत राइनले भने, “आन्दोलनमा प्रत्यक्ष सहभागी हुन सकिएन, तर हामी पनि परिवर्तन चाहन्छौं। कानुनको पालना हामी सबैले गर्नुपर्छ भन्नेमा दृढ छौं।” त्यस्तै, असफाक राइनले आफूहरू जेल जीवनका अनुभवले सजग भएको र बाँकी रहेका सबै कैदी साथीहरूले पनि चाँडै फर्किनु आवश्यक रहेको बताएका थिए।
घर पुगेका यी युवाहरूले समाजका अगुवा, आफन्त, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा बिहीबार असोज २ गते पुनः स्वेच्छाले कारागार फर्केर उदाहरण प्रस्तुत गरेका छन्। कारागार फर्कनुअघि उनीहरूले देशको कानुनलाई सम्मान गर्नुपर्ने र कानूनको शासन नै सबैभन्दा ठूलो सुरक्षा भएको सन्देश छाडेका थिए।
यी युवाहरूले सरकारले आफूहरूप्रति दया देखाउन र सुध्रिने अवसर दिनुपर्ने माग पनि गरेका छन्। “युवावस्थामा गल्ती भएको हो, तर त्यसको अर्थ सधैं गल्तीमै बाँच्छौं भन्ने होइन। हाम्रो जीवनलाई नयाँ दिशा दिन सरकारले सहयोग गरोस्,” उनीहरूको भनाइ थियो।
यस घटना सम्बन्धी प्रत्यक्ष प्रतिक्रिया दिँदै जलेश्वर कारागारका प्रमुखले यी युवाहरू आफ्नो इच्छाले फर्किनु ठूलो उदाहरण भएको बताए। उनले बाँकी रहेका अन्य कैदी बन्दीहरूलाई पनि सक्दो छिटो कारागार फर्कन आग्रह गर्दै सरकारले यसलाई सकारात्मक रूपमा हेर्ने विश्वास व्यक्त गरे।
यी युवाहरूलाई पुनः कारागार पुर्याउन समाजका अगुवा तथा समाजसेवी मोहम्मद घुरण राइन, अली हुसैन मिया, मोहम्मद आदम मिया, युनुस मिया लगायत स्थानीय व्यक्तिहरूको सक्रियता उल्लेखनीय रह्यो। उनीहरूले युवाहरूलाई सुधारको बाटोमा अघि बढाउन समाजले पनि सहयोग गर्नुपर्ने धारणा राखे।
यी घटनाले जनतामा नयाँ सन्देश दिएको स्थानीयको भनाइ छ। “गल्ती गर्ने मान्छे सबै सुधारिन सक्छन् भन्ने उदाहरण यी युवाले दिएका छन्,” एक स्थानीय अगुवाले भने।
यसरी, कानुनको पालना गर्दै पुनः कारागार फर्किएका यी दुई युवाले समाजमा सकारात्मक प्रेरणा दिने मात्र नभई परिवर्तनप्रति प्रतिबद्धता जनाउँदै सरकारसँग सुध्रिने अवसरको आग्रह गरेका छन्।