सिरहा,२६ माघ । बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम अन्तर्गत सिरहामा नेपाल स्काउट कमिटि प्रदेश नं.२ को आयोजनामा विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुलाई सामग्री वितरण गरिएको छ ।
महिला, बालबालिका र खेल क्षेत्रमा योगदान पु¥याएर सरकारले लिने गरेको लक्ष्य पुरा गर्न सहयात्रीको काम गर्ने विभिन्न संस्थाहरु मध्ये नेपाल स्काउटको महत्वपूर्ण स्थान रहि आएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले कार्यक्रममा बोल्दै बताए ।
देशभरको सबै भागका बासिन्दालाई चौतर्फी विकास गराउने साझा अवधारणा बोकेको संस्थाको रुपमा पहिचान बनाउन सफल नेपाल स्काउट केही कारणले ओझेलमा पर्दै आएको बताउदै उनले भने,‘यो संस्थालाई काम गर्ने अवसर दियो भने ग्रामिण भेगका बासिन्दाहरुले धेरै भन्दा धेरै लाभ उठाउन सक्ने छन् ।’ उनका अनुसार नेपाल स्काउटको जिल्ला जिल्लामा आफनै फरक पकड रहि आएको छ ।
नेपाल बाल संगठन सिरहाका अध्यक्ष तथा नेपाल स्काउट प्रदेश नं.२ कमिटिका सदस्य दिनेश कुमार यादवले संस्थाले पहिला बनाएको पहिचानलाई कायम राख्नका लागि सबैभन्दा फरक शैलीका कार्यक्रमहरु ल्याउने बताए । जहाँ कसैको पहुँच हुँदैन त्यहाँ पुगेर स्काउटले विपन्न तथा लक्षित वर्गको हितमा काम गर्ने उनले दाबी गरे ।
जनमानसमा फरक पहिचान बनाएको संस्था केही व्यक्तिको नियत र त्रुटिपूर्ण नीतिका कारण ओझेलमा पर्दै आएको दाबी गर्दै स्काउटका सस्दय यादवले आउने केही दिनभित्र त्यस्ता नीतिहरुमा सुधार ल्याएर विकास विरोधी व्यक्तिलाई पाखा लगाउदै सवल नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन तर्फ बढ्ने दाबी गरे । सिरहा जिल्लाका महिला र बालबालिकाको अधिकारका लागि फरक शैली अपनाएर स्काउट र बाल संगठनले काम गर्ने उनको दाबी छ ।
सिरहा जिल्लाको विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार २२ जना छात्र÷छात्राहरुलाई शैक्षिक तथा कोरोना संक्रमणबाट बच्ने सामग्री वितरण भएको बाल मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय कुमार यादवले बताए । उनका अनुसार १ थान डायरी,सेनिटाईर सिस्ट्म भएको डटपेन १ थान लगायतका सामग्री वितरण गरिएका छन् ।
स्काउटका प्रदेश कमिटि सिरहाका सदस्य तथा बाल संगठनका अध्यक्ष दिनेशको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामवृक्ष महतो, उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष प्रमोद पौद्दार, नेपाल बाल संगठनका बद्री नारायण यादव,बुधन यादव,अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य सुदन कुसियैत लगायतले स्काउटको महत्व र फाईदाबारे आ–आफ्ना मन्त्वय राखे ।