समाचार

 सिरहामा तासको खालबाट सवा दुई लाख नगदसहित पाँच पक्राउ

बिजय साह सुडी ,लाहन ३०  भाद्र । सिरहाको सुखीपुर नगरपालिका ८ स्थित एक होटलमा तास खेलिरहेको अवस्थाबाट प्रहरीले सवा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर ८ का ४० वर्षीय रञ्जित साह, ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय रामकिशसन महतो र ४० वर्षीय रामविलास मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार राति करिब १० बजेतिर सुखीपुर ८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर्स एण्ड होटलबाट पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।
इलाका प्रहरी कार्यालय सुखीपुरबाट खटिएको गस्ती टोलीले नगद दुई लाख २१ हजार चार सय ४५ रुपैयाँ, तीन बुक ताससहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए । पक्राउ परेकामाथि थप अनुसन्धान थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।