समाचार

मोटर साइकल चोरलाई प्रहरी पक्राउ गर्न खोजे प्रहरी र स्थानीय बिच विवाद

नेहा झा जनकपुर २३ भदौ । प्रहरीले मोटर साइकल चोरलाई पक्राउ गर्न खोजेपछि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ५मा प्रहरी र स्थानीय बिच विवाद भएको छ ।

चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले मोटरसाइकल चोरलाई पक्राउ गर्न खोजेपछि स्थानीय र प्रहरी बिच विवाद भएको हो । विवादकै क्रममा स्थानीयहरुले मोटरसाइकल चोरलाई भगाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ गरिएको चोरलाई भगाउन स्थानीयले प्रहरी माथि हातपात गर्न खोजेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गरेको जानकारी दिए । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएको बताएका छन् ।

चोरको पहिचान भने खुल्न नसकेको उनको भनाइ छ । फरार भएको चोर र भगाउन सघाउने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोटरसाइकल चोर तथा भगाउने व्यक्तिहरुलाई पक्राउ गर्नकालागि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थल पुगेको प्रहरी उपरीक्षक खनालले बताए ।

मोटरसाइकल चोर सोही ठाउँको भएकाले केही स्थानीय व्यक्तिहरु मिलेर चोरलाई भाग्न सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।