कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साहसमेत जेल चलान भएका छन् ।
सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएका हुन् । जेल चलान हुने अन्यमा लवाङ लामा, श्रवणकुमार श्रेष्ठ, चन्द्रबहादुर बुढा, विजयकुमार साह, गणेशकुमार बस्याल, यज्ञराज भट्ट र मालती न्यौपाने छन् । चारजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । जसमा सुनीता लामालाई १०, रामकृष्ण भुसाललाई २५, मालती न्यौपानेलाई १०, लक्ष्मी तामाङलाई १० लाख, निमा तामाङलाई १० हजार, अशिम श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । बैतडीका जनकबहादुर कुँवर पनि अनुसन्धानमा पक्राउ परेकोमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपछि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पैसा राख्ने पुष्पराज खड्का र विद्यासागर लामिछाने भने साधारण तारेखमा छुटेका छन् ।
महानगरीय अपराध महाशाखाले गत ७ असोजमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा बैंकका कर्मचारीकै मिलेमतो देखिएपछि उनीहरूलाई समेत पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए । नयाँ पत्रिकाबाट