नेपाल पोस्ट दैनिक बिशेष · पर्यटन · प्रदेश २ · समाचार

सरस्वती नदीको उद्गगमस्थल संकटमा धार्मिक आस्थाको केन्द्र खेतमा परिणत हुँदा स्थानियद्धरा संरक्षणको माग

विनोद अविरल,लहान ३१ साउन। सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुर स्थित धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको दुधही भवरी–सरस्वती नदीको उद्गगमस्थल पछिल्लो समय संरक्षणको अभावमा संकटमा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

पूर्व–पश्चिम लोकमार्ग आसपास लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको सीमाक्षेत्रमा पर्ने बाटिका टुरिजम एरियासँग जोडिएको यस पवित्र स्थलमा रहेको जलाशय क्रमशः पुरिँदै गएर खेतमा परिणत भएको बताइएको छ ।
कुनै समय प्राकृतिक रूपमा पानीले भरिभराउ रहने भवरी अहिले आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको भन्दै स्थानीय तथा श्रद्धालुहरू चिन्तित बनेका छन् ।
स्थानीय जनविश्वास अनुसार खडेरीको समयमा समेत पानी नसुक्ने यस पवित्र जलाशयमा स्नान गर्दा विभिन्न रोग तथा दुःख–कष्टबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ । यही धार्मिक आस्थाका कारण टाढा(टाढाबाट भक्तजनहरू यहाँ पुगेर स्नान गर्ने र पूजाआजा गर्ने परम्परा लामो समयदेखि चलिआएको स्थानीयको भनाइ छ ।

भक्तजनहरू स्नान गरेपछि आफूले लगाएका कपडा त्यही स्थानमा छाडेर जाने धार्मिक परम्परा समेत रहेको बताइन्छ । यसले पनि दुधहि भवरीको धार्मिक तथा सांस्कृतिक महत्व स्थानीय समाजमा कति गहिरो छ भन्ने देखाउँछ ।

यस नदीको पानीलाई विभिन्न धार्मिक अनुष्ठानमा समेत पवित्र मानिँदै आएको छ । सिराहाका विभिन्न स्थानमा हुने धार्मिक कार्यक्रम तथा पूजाआजाका लागि भक्तजनहरूले कलश यात्रा गरी यही नदीबाट जल भरेर लैजाने गरेको स्थानीयहरू बताउँछन् ।

त्यस्तै, फूलबारी धामसँग समेत यस नदीको धार्मिक सम्बन्ध रहेको जनविश्वास छ । श्रद्धालुहरू नदीमा स्नान गरी पवित्र जल फूलबारी धाममा चढाउने परम्परा रहेको बताइन्छ । त्यसैले यो स्थान केवल एउटा जलाशय वा नदीको मुहान मात्र नभई स्थानीय धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा रहेको छ ।

तर पछिल्लो समय नदीको उद्गगमस्थल तथा जलाशयको क्षेत्र क्रमशः अतिक्रमण तथा खेतीयोग्य जमिनमा परिणत हुँदै गएको आरोप स्थानीयको छ । यसबारे सम्बन्धित निकायबाट नाप–नक्सा, जग्गाको स्वामित्व, सार्वजनिकरसरकारी जग्गाको अवस्था तथा अतिक्रमण भएको–नभएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ ।

सरस्वती नदी स्थानीय किसानका लागि समेत महत्वपूर्ण मानिन्छ । यसको पानी कृषि सिँचाइको स्रोतका रूपमा प्रयोग हुँदै आएको अवस्थामा मुहान नै प्रभावित हुँदा भविष्यमा सिँचाइ प्रणाली र पानीको प्राकृतिक बहावमा असर पर्न सक्ने स्थानीयको चिन्ता छ ।

नदीको प्राकृतिक स्वरूप नष्ट हुँदै जाँदा वातावरणीय तथा पर्यटकीय सम्भावनासमेत कमजोर हुने देखिन्छ ।
कानुनी दृष्टिले पनि विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने देखिन्छ । जलस्रोत ऐन, २०४९ ले नेपालभित्रका जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन तथा विकास र त्यसबाट हुन सक्ने वातावरणीय हानीको रोकथामका लागि कानुनी व्यवस्था गरेको छ ।

त्यसैगरी, कुनै स्थलले ऐतिहासिक, धार्मिक वा पुरातात्विक महत्व बोकेको प्रमाणित भएमा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गत सम्बन्धित निकायबाट संरक्षणको विषयसमेत हेर्न सकिने व्यवस्था रहेको छ । उक्त ऐनले ऐतिहासिक तथा धार्मिक महत्वका स्थल र पुरातात्विक महत्वसँग सम्बन्धित क्षेत्रको संरक्षणका विषयमा व्यवस्था गरेको छ ।

त्यसैले दुधही भवरी–सरस्वती नदीको उद्गगम स्थललाई स्थानीय जनविश्वासमा मात्र सीमित नराखी यसको ऐतिहासिकता, धार्मिक महत्व, प्राकृतिक अवस्था, जलस्रोतको स्वरूप र जग्गाको कानुनी अवस्थाबारे सम्बन्धित सरकारी निकायबाट अध्ययन तथा अभिलेखीकरण गर्न आवश्यक देखिन्छ ।

स्थानीयवासीले लहान नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापी तथा मालपोतसम्बन्धी निकाय, जलस्रोत तथा वातावरणसम्बन्धी निकाय र आवश्यक परे पुरातत्व विभागसमेतले संयुक्त रूपमा स्थलगत निरीक्षण गरी वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

कुनै व्यक्तिको निजी जग्गा भए कानुनी स्वामित्वको सम्मान हुनुपर्ने भए पनि सार्वजनिक जलस्रोत, प्राकृतिक मुहान वा ऐतिहासिक–धार्मिक महत्व बोकेको स्थलमाथि कानुनविपरीत अतिक्रमण भएको प्रमाणित भएमा सम्बन्धित निकायले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको भनाइ छ ।

कहिल्यै नसुक्ने विश्वास गरिएको पानीको मुहान आज खेतमा परिणत हुँदै जानु केवल एउटा जलाशय हराउनु मात्र होइन, पुस्तौँदेखि जोगिँदै आएको धार्मिक आस्था, स्थानीय इतिहास, प्राकृतिक सम्पदा र सम्भावित पर्यटकीय पहिचान गुम्ने खतरा पनि हो ।

आज संरक्षण नगर्ने हो भने भोलि दुधही भवरीको कथा मात्रै बाँकी रहन सक्छ । त्यसैले सरस्वती नदीको उद्गगमस्थललाई अतिक्रमण र विनाशबाट जोगाउँदै यसको प्राकृतिक स्वरूप पुनःस्थापना, संरक्षण र व्यवस्थित विकासतर्फ तत्काल सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

स्थानीयको प्रश्न एउटै छ—आस्थाको केन्द्र र पानीको मुहानका रूपमा पुस्तौँदेखि चिनिँदै आएको दुधही भवरीलाई अब कसले जोगाउने ?