लहान २८ फाल्गुन । राlष्ट्रिय स्वतन्त्र पार्टि सिरहा क्षेत्र नं. २ बाट भारी मतले विजय भएका उम्मेदवार शिव कुमार यादवका भनाइ । मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गरे । यो टोल मेरो, यो तेरो भने ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’३० वर्षीय शिव यादवले सिरहा–२ मा फराकिलो मतान्तरले चुनाव जिते । उनकै तर्कअनुसार, यसपटक चुनावमा मधेशमा चल्दै आएको ठेकेदारी प्रथा र पुराना दलका गढ सबै भत्किए । स्वच्छ हिसाबले भएको चुनावमा मतदाताले असामान्य तरिकाले मत हाले ।
यो मत परिणामले मधेश प्रदेशको वैकल्पिक राजनीतिको उदयलाई पनि प्रतिबिम्वित गर्छ । अझ जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनावमा जेनजी आन्दोलनकै सक्रिय अभियन्ता निर्वाचित हुनु झन् अर्थपूर्ण रहेको यादवको बुझाइ छ ।यादव आफैंमा जेनजी आन्दोलनका सक्रिय कार्यकर्ता थिए । विगत ७–८ वर्षदेखि सडक संघर्षमा रहेका उनी सामाजिक न्याय, भ्रष्टाचारविरुद्ध र युवा मुद्दामा आवाज उठाउँदै कयौं पटक गिरफ्तार भइसकेका व्यक्ति हुन् ।सामाजिक मुद्दामा बोल्दै गर्दा पटकपटक प्रहरी दमनसमेत सहे ।
हुन त, यादवका लागि यो चुनाव पहिलो होइन । यसअघि २०७९ को निर्वाचनमा पनि उनी लौरो चिह्नबाट सिरहा–२ मै चुनाव लडेका थिए । त्यतिबेला पनि मतदाताको घरदैलोमा उनी पुगेका थिए । तर पार्टीको राष्ट्रिय स्तरको प्रभाव कम थियो ।पहिलाको चुनावको तुलनामा प्रतिस्पर्धाका हिसाबले यो चुनाव एकदमै सहज भएको अनुभव यादवको छ । रास्वपाको देशव्यापी लहरसँगै उनको जित सहज देखियो । सिरहा–२ मा उनले फराकिलो मतान्तरले जिते । चुनावी अभियानमा शिवले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिए । पुरानै शैलीमा चुनाव जितिन्छ भन्ने भ्रम चिर्न सुरुबाटै लागिपरे ।
‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’