१६ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका सयौँ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका सयौँ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । सुन्दरहरैँचा नगरपालिकाका विभिन्न वडाका सभापति, उपसभापति, सचिव र सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् ।
पार्टी त्याग्नेहरूले संगठनभित्र अराजकता मौलाएको, गतिविधिहरू कुशासनतर्फ उन्मुख भएको तथा नेतृत्वको आलोचना गर्दा उल्टै गालीसहित धम्की आएको आरोप लगाएका छन् । आत्मसम्मानमा चोट पुगेपछि सामूहिक रूपमा पार्टी छाड्न बाध्य भएको उनीहरूले बताएका छन् । पार्टी परित्याग गर्नेहरूमा सुन्दरहरैँचा वडा नम्बर १ का प्रमुख राजेश रौनियार, वडा नम्बर २ का वडा सभापति देविचरण बन्जना (उज्ज्वल), वडा नम्बर ८ का वडा सभापति मोहन रेग्मी, वडा नम्बर ९ का वडा सभापति इन्द्रबहादुर थापा, वडा नम्बर १० का वडा सभापति दिनेश खड्का, वडा नम्बर १२ का वडा सभापति नरबहादुर राई रहेका छन् ।
यस्तै, वडा नम्बर ५ का उपसभापति रोहित प्रसाद न्यौपाने, वडा नम्बर १२ का उपसभापति कोपिला सुवेदी आचार्य र वडा नम्बर ५ का सचिव श्यामबहादुर कार्की रहेका छन् । साथै वडा नम्बर ९ का सचिवसहित विभिन्न वडाका सयौँ सदस्यहरूले पनि पार्टी परित्याग गरेका छन् ।
सुन्दरहरैँचाका पाँच वडाका वडासभाति र दुई वडाका उपसभापतिसहित ५ र ९ का सचिव नै बाहिरिएपछि मोरङ–३ मा रास्वपाको सांगठनिक अवस्था कमजोर बनेको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आएको यो घटनाक्रमले रास्वपाका उम्मेदवार गणेश कार्कीलाई ठुलो धक्का पुग्ने देखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा समेत प्रतिस्पर्धामा रहेका छन् । रास्वपा छाडेकाहरूले मोरङ– ३ मा कांग्रेस उम्मेदवार शर्मालाई सघाउन सक्ने बताइएको छ ।