प्रदेश १ · राजनीतिक · समाचार

कोशी प्रदेशमा मुख्यमन्त्रीको समर्थन गर्न सांसदको सनाखत संकलन जारी

विराटनगर २७ असोज । संविधानको धारा १६८ को ९५० अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाएका हुन् ।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको नेपाली कांग्रेस विद्रोही समूहका सांसदका लागि बिहान ८ बजेदेखि ११ बजेको समय तोकिएको छ । उनीहरूको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार इन्द्रबहादुर आङ्बोका लागि ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रदेश प्रमुखले दाबी गर्नका लागि दिएको समय सकिएपछि कांग्रेसको विद्रोही समूहका ८ जना र नेकपा एमालेका ३९ जना सांसद शुक्रबार बेलुका प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।