लहान २५ कार्तिक । तराई मधेशको आस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई पूजा आजासहित अघ्र्य दिई छठ पर्वलाई समापन गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बुधवार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ।
अन्य पोखरी तथा जलासयको किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।
राम जानकी पोखरी चारै तिर बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । हजारौ भक्तजनले बुधवार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज बिहिवार उदाउँदो सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरिएको छ ।
व्रतालुहरूले प्रत्येक वर्ष कात्तिक र चैत महिनाको शुक्ल षष्टी तिथिका दिन जलाशयको किनारमा भगवान् सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । जलाशयमा आधा शरीर पानीमा डुबाएर सूर्यदेव भगवान् र षष्टी माताको आराधना गरी छठी पारन सकिएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै तेस्रो दिन अर्थात् बुधबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
त्यस्तै चोथो दिन यर्थात विहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशभरी मनाउने गरेका छन् ।