लहान १० कार्तिक । सिरहाको लहान नगरपालिका २४ स्थित वडा कार्यालयको वडाअध्यक्ष बस्ने कोठामा स्थानीयवासीले विकास र पारदर्शिताको माग गर्दै बुधबार तालाबन्दी गरेका छन् ।
जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष बित्न लाग्दापनि वडामा उल्लेखनिय विकास नभएको स्थानीयहरुको गुनासो छ । ‘नगरसभाबाट हरेक वर्ष यही वडामा सबै भन्दा बढी बजेट आउने गरेको छ तर, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सदुपयोग भएको छैन् । वडाअध्यक्षले आफ्नो आसेपासेलाई बजेट कामै नगरी पनि निकासा दिने गरेको छ,’स्थानीय उमेश यादवले भने,‘हामीले पारदर्शिताको लागि वडामा आएको बजेट कहाँ–कहाँ खर्च भएको माग्दापनि दिएको छैन् ।’
यही वडामा स्थानीयहरुले सडकको विकास माग्दै ३९ दिनदेखि आन्दोलन गरिरहेको छ । खोलाबाट गाउँहुँदै आउने ट्याक्टरलाई गिट्टी, ढुगां, बालुवा लिएर आउन जान रोक लगाएको छ । ‘यही वडाको खोलाबाट करौडो रुपैयाँ नगरपालिकाले राजश्व असुल्ने गरेको छ । विकासमा ध्यान दिएको छैन्,’अर्का स्थानीय शितल साहले भने,‘हामीहरु बाध्य भएर आन्दोलित भएका छौँ ।’
‘नगरपालिकाबाट वडा स्तरीयमा आएको बजेट अनुसार विकास गरेको छैन । बजेट खर्चका हिसाब माग्दा दिनै मान्दैन । वडाको भेलामा बस्न भन्दा पनि पटक पटक समय लिएर आउने गरेको छैन,’ स्थानीय कांग्रेस नेता रासलाल रायले भने,‘बजेटको नाममा कार्यकर्ता पालन मात्र वडाअध्यक्षले गरेको छ ।’ वडाअध्यक्षले कुनै वस्ता नै नगरेको भन्दै जनता र दलका प्रतिनिधिहरु आक्रोशित भई वडा अध्यक्ष बस्ने कोठामा ताला लगाएको उनले सुनाए ।
आन्दोलित स्थानीयले सेवाग्राहीको काममा बाधा नहोस भनेर वडा सचिवको कार्यकक्षमा ताला लगाएनन ।