काठमाडौँ ३ कार्तिक । लगातारकोअविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान परेको छ । बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ ।
हुम्लामा एकैपरिवारका ६, इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसरीमा २, कालीकोटमा १, डडेलधुरामा १ जनाको मृत्यु भएको छ ।
त्यस्तै बझाङमा २३, कैलालीमा ४ सहित करीब ३७ जना बेपत्ता छन् ।
अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।
विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।
सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
बाढी पहिरो र डुबानबाट देशका १९ जिल्ला प्रभावित भएका छन् । रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ ।
नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।