बेइजिङ १० माघ। चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि नयाँ अस्पताल बनाउने तयारी भएको छ । चनीले १० दिनमा कोरोना भाइरस संक्रमितलाई उपचारका लागि उक्त अस्पताल बनाउन लागेको जनाइएको छ।
वुहानको केन्द्रमा बन्ने उक्त अस्पतालामा फेब्रुअरी ३ दिनदेखि उपचार थालिने गरी अस्पताल बनाउन लागिएको चिनियाँ सञ्चारमाध्यमहले जनाएका छन् ।
चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने सयौं बिरामी छन् ।
उक्त भाइरस अन्य क्षेत्रमा फैलिन नदिन आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।
उक्त नयाँ अस्पताल निर्माणका लागि दर्जनौं डोजर तथा स्काभेटर काममा खटिएका तस्बिरह सार्वजनिक भएका छन् । अस्पताल एक सय शय्याको हुने र २५ सय वर्गमिटरको क्षेत्रफलमा बन्ने भएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नयाँ अस्पतालमा बिरामीलाई पर्याप्त उपचार र औषधिको व्यवस्था गरिने लक्ष्य रहेको छ ।
सन् २००३ मा बेइजिङमा सार्स भाइरसको संक्रमण फैलिँदा ३४९ जनाको चीनमा र २९९ जनाको हङकङमा मृत्यु भएको थियो । उक्त समयमा पनि चीनले बेइजिङ आसपासका क्षेत्रमा तत्काल अस्पतालहरु बनाएको थियो । बाह्रखरिबाट