समाचार

स्वागतद्वार दशगजामै परेपछि काम स्थगित

सिरहा : सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी बजारनजिकै भारतीय भन्सार कार्यलयले निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य दशगजाभित्रै परेको पाइएको छ । ‘मिड प्वाइन्ट’बाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै परेको छ ।

‘नेपाल–भारत संयुक्त सीमा सर्वे टोलीले सर्वे गरेपछि उक्त निर्माण कार्य दशगजामै परेको पाइएको छ,’सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी प्रविण कडेँलले भने,‘विवादको अन्तिम निर्क्यौल नभएसम्मको लागि काम स्थगित गरेको छ ।’ दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्ट हुने उनले बताए ।

एक हप्ता अगाडिदेखि भारतीय भन्सार कार्यलयले स्वागतद्वार निर्माण गर्न थालेको थियो । स्थानीयले विरोध गरेपछि प्रशासनले चासो देखाएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।