टिनएजमा सबैलाई डण्डिफोर आउँछ । यद्यपि, अहिले डण्डिफोर आउन कुनै उमेर समुहको हुनै पर्दैन । गर्मी मौसममा जो कोहिलाई पनि डण्डिफोर आउन सक्छ । डण्डिफोरले महिला अथवा पुरुष पनि भन्दैन, किशोर-किशोरी पनि भन्दैन । छालामा हुने रोमछिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डिफोर आउँछ ।
डण्डिफोर प्राय अनुहारमै आउने भएकाले यो कसैलाई पनि मन पर्दैन । अनुहारको रौनक नै बिगार्ने भएकाले हामीलाई डण्डिफोर आएको मन पर्दैन । अझ कतिपय डण्डिफोरको त दाग नै बस्छ, जसलाई सहजै हटाउन सकिंदैन । डण्डिफोर आएको बेला केही कुरामा ध्यान दिन सकियो भने यसले भविष्यमा सताउन सक्दैन ।
सावधानी
-डन्डिफोरलाई हातले सोझै छुनु हुँदैन । यदि छोइयो भने तुरुन्तै हात धुनुपर्छ । यदि तपाईंले उक्त हात नधोइ अनुहारको कुनै ठाउँमा छुनु भयो भने त्यही ठाउँमा डण्डिफोर आउन सक्छ ।
-डण्डिफोरलाई निचोर्न अथवा कोट्याउने गल्ति गर्नु हुँदैन ।
-अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नु पर्छ ।
-राति सुत्नु भन्दाअघि अनुहारको मेकअपलाई सफा पानीले पखाल्नु पर्छ ।
-हार्माेनमा आउने परिवर्तन तथा महिनावारीको गडबडी पनि डण्डिफोरको कारण बन्न सक्छ । .त्यसका कारण तपाईंलाई हरेक महिना डण्डिफोर आइरहन्छ भने एक पटक चिकित्सकलाई भेट्दा पनि फरक पर्दैन ।
-अनुहारमा लगाइने कस्मेटिक प्रोडक्टहरु परिवर्तन गरिरहनु हुँदैन । कस्मेटिकले छालालाई नकारात्मक प्रभाव पारेकै हुन्छ । त्यसैले एउटा प्रोडक्टले छाला कतिसम्म प्रभाव पारेको छ भन्ने कुरा परीक्षण गर्नका लागि समेत कम्तिमा एक महिनाको समय दिनै पर्छ ।
डण्डिफोरलाई हटाउने घरेलु उपायहरु
आइस क्यूब
आइस क्यूबले डण्डिफोरबाट छुटकारा पाउन सकिन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन । आइस क्यूबले डण्डिफोर आएको ठाउँमा हल्का मजास गर्दै केही समय त्यहीं राख्नु पर्छ । यो कार्य दिनमा तीन-चार पटक गरियो भने डण्डिफोरबाट मुक्ति पाउन सकिन्छ ।
मह
अनुहारको चमक कायम राख्न प्रयोग गरिने मह डन्डिफोरका लागि पनि उपयुक्त छ । यसले तेल ग्रन्थिमा गएर छिट्टै असर देखाउन थाल्छ । कटनको पातलो कपडालाई महमा डुबाएर डन्डिफोर भएको ठाउँमा आधा घन्टाजति राखिदिने अनि पछि मन तातोपानीले अनुहार सफा गर्नाले डण्डिफोरको समस्या कम हुन्छ ।
कागती
कागतीका रसका फाइदाहरु धेरै छन् । कागतीबाट मोटोपन घटाउन, अनुहारलाई चम्किलो बनाउनदेखि डण्डिफोरको उपचारमा समेत प्रयोग गर्न सकिन्छ । सुतीको पातलो कपडालाई कागतीमा रसमा डुबाएर राती सुत्नुभन्दा अघि डण्डिफोर आएको ठाउँमा राख्नु पर्छ । बिहान उठेर चिसो पानीले अनुहार धुनाले डण्डिफोरको समस्या कम भैसकेको हुन्छ ।
टुथपेस्ट
डण्डिफोरको उपचारमा टुथपेस्ट अति नै प्रभावकारी मानिन्छ । टुथपेष्टले डण्डिफोर कम गर्न सहयोग पुर्याउँछ । राती सुत्नुभन्दा अघि डण्डिफोर आएको ठाउँमा टुथपेष्ट लगाउने अनि बिहान चिसो पानीले अनुहार सफा गर्नाले डण्डिफोरलाई कम गर्न सकिन्छ ।
लसुन
लसुन पनि डण्डिफोरको उपचारमा प्रभावकारी मानिन्छ । लसुनलाई बोक्रा छोडाएर दुई टुक्रा बनाउने अनि डण्डिफोर आएको ठाउँमा केही मिनेट दल्नु पर्छ । लसुन दलेको केही मिनेटपछि सफा पानीले अनुहार सफा गर्नु पर्छ ।
बेकिङ सोडा
बेकिङ सोडा पनि डन्डिफोरको घरेलु उपचारमा प्रभावकारी मानिन्छ । बेकिङ सोडाले अनुहारलाई तैलिय हुनबाट जोगाउँछ भने मृत सेलहरुलाई पनि हटाएर अनुहारलाई ताजा बनाउँछ । एक चम्चा बेकिङ सोडामा कागतीको रस मिसाएर बनेको पेस्ट डन्डिफोर आएको ठाउँमा लगाउने र केही समयपछि सफा पानीले सफा गर्ने । यसले तपाईंको डण्डिफोर कम गराउँछ ।
दही
दहीको प्रयोगबाट पनि हामीले डण्डिफोरलाई हटाउन सक्छौं । दहीमा कागतीको केही थोपा रस मिसाएर अनुहारमा लगाएर १५ मिनेटपछि धुनुपर्छ । यसलाई दिनमा दुई पटक गर्न सकियो भने डण्डिफोरबाट चाँडै छुटकारा पाउन सकिन्छ ।
फिटकिरी
फिटकिरीको आधा चम्चा धुलोमा त्यति नै मात्रामा कागतीको रस तथा उत्तिकै पानी मिसाएर अनुहारमा लगाउनले पनि डण्डिफोर कम हुन्छ ।
घिउकुमारीको रस (एलोभेरा)
घिउकुमारी अर्थात एलोबेराको रसले पनि डण्डिफोर हटाउन मद्दत गर्छ । डण्डिफोर आएको ठाउँमा घिउकुमारीको रस दलेर २० मिनेटपछि सफा पानीले धोएमा डण्डिफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसो त घिउ कुमारीले अनुहारलाई सफा, दागरहित बनाउन समेत सहयोग पुर्याउँछ ।