तुलसीपुर ९ चैत/बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो ।
दमारगाउँमा स्थापना गरिएको हेल्थडेस्कमा सोधपुछ गर्दा उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्ने मजदुर भएको र भारतको नानपाराबाट आएको बताएका थिए । ‘उनीहरु सबै भारतीय नागरिक रहेछन्, राम्रोसँग नेपाली बोल्न पनि जान्दा रहेनछन्,’ हेल्थ डेस्कमा खटिएका जनस्वास्थ्य निरीक्षक विमल केसीले अनलाइनखबरसँग भने, ‘कोरोना भाइरस संक्रमित भेटिएको भारतबाट आएकाले उनीहरुलाई हामीले फिर्ता पठाइदियौं ।
उनीहरु नेपालगञ्ज हुँदै नै दाङ प्रवेश गरेको अनुमान गरिएको छ । तर, नेपालगञ्जको जनस्वास्थ्य टोलीलाई आफूहरुले नभेटेको बताएको छ । जनस्वास्थ्य अधिकृत केसीले भने, ‘हामीले नेपालगञ्जको स्वास्थ्य टोलीलाई पनि सोध्यौं, तर उनीहरु कहाँबाट छिरे भन्ने थाहा हुन सकेन । सायद उनीहरु अन्य कुनै साना नाकाबाट छिरेको हुनुपर्छ । दमारगाउँ तुलसीपुर बजार प्रवेश गर्ने नाका हो ।
त्यहाँसम्म बाँकेको नेपालगञ्ज, इमिलिया हुँदै आइपुगिन्छ । पूर्वपश्चिम राजमार्ग छाडेर इमिलिया हुँदै अघि बढेपछि पहाडी बाटोलाई पार गरेपछि दमारगाउँ आइपुगिन्छ र दमारगाउँ पनि पार गरेपछि तुलसीपुर बजार सुरु हुन्छ ।तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर प्रवेश गर्ने दमारगाउँ र टरिगाउँ विमानस्थल गरी दुई स्थानमा हेल्थडेस्क स्थापना गरेको छ ।
तुलसीपुर कोरोना हेल्थ डेस्कका अनुसार शनिबारमात्रै दमारगाउँमा ४ हजार ८ सय १५ महिला र ७६७ पुरुष गरी जम्मा १ हजार २ सय ८४ जनाको स्वास्थ्य जाँच गरिएको छ । यस्तै टरिगाउँ विमानस्थलमा १८ महिला र २० जना पुरुषको स्वास्थ्य जाँच गरिएको छ । तर, कसैमा पनि ज्वरो नदेखिएको केसीले जानकारी दिए ।
यसैबीच भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । उनी निजी अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार प्रतिष्ठानमा रेफर गरिएका विरामी हुन् । पारिवारिक स्रोतका अनुसार उनलाई १८ दिनदेखि ज्वरो आइरहेको थियो ।
प्रतिष्ठानका एक डाक्टरका अनुसार ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या रहेको जानकारी दिए । उनको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंमा पठाइएको छ ।