राजविराज ६ चैत । सरकारले एक्कासी माध्यमिक शिक्षा परिक्षा (एसईई) स्थगनको घोषणा गरेपनि जानकारी नपाएका सयौ विद्यार्थी विहिबार विहान सप्तरीका विभिन्न परिक्षा केन्द्रमा पुगेका छन् ।
प्रवेश पत्र र आवश्यक सामग्री सहित परिक्षा केन्द्र पुगेका परिक्षार्थीहरु परिक्षा स्थगनको जानकारी पाएपछि निरास भई फर्केका हुन । कोरोना भाईरस फैलने त्रासले असहज परिस्थितिमा पनि परिक्षाको तयारी गरेको तर केन्द्रमा आएपछि स्थगनको खबरले निरास भई फर्किनु परेको स्थानिय लिटिल फलावर विद्यालयमा परिक्षा दिन आएका परिक्षार्थी कुन्दन यादवले बताए ।
उप प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको अघिल्लो दिन बुधबार बसेको बैठकले एसईई र विभिन्न विश्व विद्यालयका पुर्व निर्धारित परिक्षा स्थगनको निर्णय गरेको थियो ।
घरबाट टाढा परिक्षा केन्द्र भएकाहरु अघिल्लो दिन नै बसोबासका लागि डेरा भाडा लिई बसी सकेको तर परिक्षा केन्द्र पुग्दा स्थगनको खबर पाएपछि अनावश्यक खर्च तिरेर घर फर्किनु परेको परिक्षार्थी संजय कुमार साहले सुनाए । सप्तरीबाट यस वर्ष एसईई परिक्षा लागि १ हजार १ सय ४० परिक्षार्थी छन । तर अन्तिम समयमा गरिएको परिक्षा स्थगनले सवै अन्यौनमा परेका छन् ।
