प्रदेश ५ · समाचार

जथाभावी फोहोर फाल्ने र जलाउने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना

रुपन्देही २२ फाल्गुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जथाभावी फोहोर फाल्ने र जलाउने गरेको भन्दै एक व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना गरेको छ।

केही दिनअघि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सिमानगरमा फोहोर जलाउँदै गर्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का भेषराज अर्याललाई सो जरिवाना गरिएको नगरपालिका राजश्व शाखाका इन्द्र सापकोटाले बताए। मंगलबार नगरपालिकाले प्राप्त गरेको उक्त रकममध्ये ५० हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ त्यहाँ फालिएको फोहोर व्यवस्थापनको लागि रहेको उनले बताए।

राति गाडीको प्रयोग गरी फालेको फोहोरलाई भोलिपल्ट बिहान जलाउँदै गर्दा स्थानीयले देखेपछि नगरपालिकालाई खबर गरेका थिए।

तिलोत्तमा नगरपालिकाले फागुन महिनाभर नगरपालिका क्षेत्रलाई शून्य खुल्ला प्लास्टिक मुक्त घोषणा गर्ने तयारी स्वरुप विभिन्न अभियान संचालन गर्दै आएको छ। गत वर्षदेखि संचालन गरेको अभियान अन्तर्गत नगरपालिकाका १३ वटा वडालाई शून्य खुल्ला प्लास्टिक मुक्त घोषणा गरिएको छ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकाले प्लास्टिकजन्य फोहोरका कारण वातावरण, जमिन तथा मानिसको स्वास्थ्यमा समेत गम्भीर असर गरेको भन्दै प्लास्टिक मुक्त अभियान सुरू गरेको हो।

नगरपालिकाले घर पसल तथा बजारमा सामान खरिद गर्न जाँदा प्लास्टिकको सट्टा जुट, फाइबर र कपडाको झोला प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। सेतोपाटिबाट