राजनीतिक

मन्त्री नेम्बाङको सय दिने प्रगति विवरण सार्वजनिक

भौतिक पूर्वाधार तथा यातयातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रीको जिम्मेवारी सम्हालेको सय दिनमा आफ्नो मन्त्रालयले गरेको प्रगति सार्वजनिक गरेका छन्। शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सय दिने प्रगति सार्वजनिक गरेका हुन्।

पूर्वमन्त्री रघुवीर महासेठको कामबाट सन्तुष्ट हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा नेम्बाङलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका थिए। मन्त्री नेम्बाङले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका काममा सकारात्मक परिवर्तन देखिएको चर्चा चल्दै आएको छ।

मन्त्री नेम्बाङले आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गर्दै उक्त चर्चालाई ‘तथ्य’बाट पुष्टि गर्ने प्रयास गरे। उनले उपत्यकाका सडक सुधार एवं विस्तार, राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिएको, विभिन्न आयोजनाका काममा तीव्रता आएको, पानीजहाज तथा रेलमार्गलगायतका कार्यमा प्रगति भएकोलगायत विवरण प्रस्तुत गरेका छन्।