काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुङ्गामा सडक स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको छ । चेकपोष्टबाट पिपलामोडसम्मको झण्डै साढे दुई किलोमिटर सडकमा डिभिजन सडक कार्यालयले कालोपत्र थप्ने काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानममत्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलिया, डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीलगायतले सडक स्तरोन्नतिको कामको आज स्थलगत अवलोकन गरे ।
उनहरुले काम सन्तोषजनकरुपमा अघि बढिरहेको जानकारी दिनुभयो । आगामी चैतसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि आगामी सातासम्म सम्पन्न गर्न गरी निर्माण अघि बढिरहेको देख्न सकिन्छ ।
सवारीसाधनको चाप उच्च रहेको सो सडक खण्डमा निर्माणमा समन्वय गर्न ट्राफिक प्रहरी नियमित खटिएका छन् ।
शो अवसरमा मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका बाहिरका ठूला आयोजनासँगै उपत्यकाको सडक व्यवस्थित बनाउने काम शुरु भएको बताए । नागढुङ्गामा दुई÷तीन वर्षमा सुरुङ बने पनि हालका लागि उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई सहजरुपमा आवतजावत गर्न सकुन् भनी सडक स्तरोन्नतिको काम अघि बढेको उहाँले जानकारी दिए ।
मन्त्री नेम्वाङ्ले भने, “विशिष्ठ व्यक्तिको भ्रमणमा वा ठूला कार्यक्रम हुँदा मात्रै होइन यो काम सडक विभागले नियमितरुपमा गर्नुपर्छ । प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ थपलियाले सरकारले पहिलो चरणमा काठमाडौँ उपत्यकाको खाल्डाखुल्डी भर्न काम गरिरहेको बताए ।
काठमाडौँ उपत्यकाका खाल्डा हटाइसकेपछि उपत्यका बाहिरका सडकमा समेत काम हुने उनले जानकारी दिए । उपत्यकामा धेरै स्थानमा खाल्डाखुल्डी पुर्नका लागि गत मङ्सिरमा नै ठेक्का सम्झौता भइसकेको थियो । आगामी चैतमा अवधि सकिने भए पनि त्योभन्दा एक महिना पहिले नै सम्पन्न हुने देखिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यस सडकको विकल्प नभएकाले सवारी साधन आलोपालो रोकेर निर्माणको काम भइरहेको जानकारी दिए । एकातिरको सडक १०÷१२ मिनेटसम्म रोकेर अर्कातिर निर्माण हुने र फेरि त्यो दिशामा सवारी साधन चल्ने र अर्कातिर निर्माण हुने गरी काम अघि बढेको छ ।
कालोपत्रको काम सकेसम्म सवारी साधनको चाप कम हुने समयमा भइरहेको छ । उनले भने, “सहजीकरणका लागि ट्राफिक प्रहरीको यहाँको युनिट नियमितरुपमा यहाँ खटिएको छ । डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए ।
ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको छ । डिभिजनले चालू आवमा झण्डै ४१ किमी सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमीमा काम भइसकेको छ । उनले भने, “३१ किमी सडकमा पनि निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।
सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमितरुपमा अघि बढिरहेको बताए ।
यस स्थानमा जारी काम आगामी १० दिनभित्रमा सम्पन्न भइसक्ने उनले जानकारी दिए । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री नेम्वाङले काठमाडौँ उपत्यकामा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्र बनाउनुभएको छ ।
समयसमयमा निर्माण स्थलमा पुगेर अनुगमन समेत उनले गर्दै आएका छन् । उपत्यकामा काठमाडौँका ९५ ललितपुरको ३८ र भक्तपुरको १९ स्थानमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ
