जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · मनोरञ्जन · समाचार · स्वास्थ्य

सप्तरीको सुरूङ्गा नगरपालिकाद्वारा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन

शम्भु चौधरी, लहान ५ मंसिर । सप्तरीको सुरूङ्गा नगरपालिकाले नागरिकको स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा मानसिक शान्तिलाई ध्यानमा राख्दै पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर शुक्रबार देखि कुशहाको खेलमैदानमा सञ्चालन गरेको छ।

नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको छ। शिविरमा सहभागीहरूलाई योग, प्राणायाम, ध्यान तथा विभिन्न शारीरिक अभ्यासका माध्यमबाट स्वस्थ जीवनशैली अपनाउने तरिकाबारे प्रशिक्षण प्रदान गरिनेछ।

नगर प्रमुख गीता चौधरीले पानसमा दियो बालि उदघाटन गरेको योग विज्ञान शिविरले नागरिकमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै नियमित योग अभ्यास गर्ने बानीको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। योगले शारीरिक स्वास्थ्यसँगै मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख गीता चौधरीले बताईन ।

पाँच दिनसम्म सञ्चालन हुने शिविरबाट नगरवासीले योगको महत्व, अभ्यास गर्ने विधि तथा स्वस्थ जीवनयापनका उपायबारे ज्ञान प्राप्त गर्ने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य र जीवनस्तर सुधारका लागि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।