नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · मुख्य समाचार · समाचार

मधेशका ८ वटै जिल्ला प्रहरी कार्यालयलाई नयाँ पिकअप भ्यान

जनकपुरधाम ९, भदौ । मधेश प्रदेश सरकारले प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयलाई एक–एक वटा पिकअप भ्यान हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारले सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयलाई समेत थप एक–एक वटा पिकअप भ्यान उपलब्ध गराएको छ ।
यससँगै कुल १२ वटा पिकअप भ्यान हस्तान्तरण गरिएको जनाइएको छ।
सुरक्षा निकायलाई थप स्रोत–साधन सम्पन्न बनाउँदै प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सवारीसाधन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका पिकअपमा साइरन, इमरजेन्सी लाइट, सेफ्टी किट, टुलबक्सलगायत आवश्यक उपकरण जडान गरिएको छ ।
प्रत्येक पिकअपका लागि ३९ लाख ५ हजार रुपैयाँ बजेट छुट्याइएको थियो ।
यसैगरी, केही दिनभित्रै मधेश प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप ७० वटा मोटरसाइकल हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ ।
नयाँ सवारीसाधन तथा उपकरण थपिएसँगै प्रहरीको परिचालन क्षमता बढ्ने र नागरिकको सेवामा प्रहरीको पहुँच अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन सम्पन्न बनाउँदै नागरिकको सेवा र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।