शम्भु चौधरी लहान ३0 माघ। धनगढीमाई नगरपालिका ३ रुपनगरमा मनाउन गइरहेको तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत उत्सव २0८२ को तयारी सम्पन्न भएको छ । थारू समुदायको मौलिकता, पौराणिक कला तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्यले थारू सम्वत् २६४९ को अवसरमा तेस्रो जिल्ला तिल्ला सङ्क्राइत (माघी) उत्सव आयोजना हुन गइरहेको छ।
उक्त उत्सव माघ १ गते, विहीवार बिहान १0:३0 बजेदेखि धनगढीमाई नगरपालिका–३ स्थित राजदेवी मन्दिरको प्राङ्गनमा आयोजना गरिनेछ। कार्यक्रमको आयोजना थारू कल्याणकारिणी सभा धनगढीमाई नगर समिति, सिरहाले गरेको हो।
उत्सव सफल बनाउन थारू कल्याणकारिणी सभा सिरहाको सहयोग तथा थारू सामुदायिक सेवा केन्द्र, सिरहा, थारू महिला सभा, सिरहा, थारू विद्यार्थी सभा, सिरहा र थारू कलाकार मञ्च, सिरहाको समन्वय रहेको छ।
माघी उत्सवको अवसरमा थारू समुदायको ऐतिहासिक परम्परा, मौलिक नृत्य, गीत, भेषभूषा, खानपान तथा सांस्कृतिक पहिचान झल्किने विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक समितिका संयोजक शम्भु प्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू सम्वतको स्वागत गर्दै समुदायभित्र आपसी एकता, सदभाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमले बोकेको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ५१ किलोको लड्डु, ५ किलोको बगिया, हलो, ढेकी, माछा मार्ने जाल, कोदालो, धिमैर लगायत थारू समुदायको जीवनशैली र परम्परालाई झल्काउने सामग्रीहरूको प्रदर्शन गरिने संयोजक शम्भु प्रसाद चौधरीले सिरहा टाइम्सलाई बताए।
उत्सवका मिडिया पार्टनरका रूपमा नेपाल पोष्ट दैनिक, सिरहा दर्पण, सिरहा टाइम्स, सखुवा खबर र तराई फिलिक्स रहेका छन्।
आयोजक समितिले सम्पूर्ण थारू समुदायसहित अन्य समुदायका नागरिकलाई समेत कार्यक्रममा सहभागी भई थारू संस्कृति, कला र परम्परालाई नजिकबाट अवलोकन गर्न हार्दिक निमन्त्रणा गरेको छ।