लहान भदौ ७, स्थानीय तहका प्रायः जनप्रतिनिधि आफ्नो सेवा र सुविधाका लागि मात्र मरिहत्ते गर्ने गुनासो बढिरहेका वेला सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षले भने आफूले पाउने तलबबाट मुसहर बालबालिकाका लागि ट्युसन कक्षा चलाएका छन् ।
लहान नगरपालिका २० का वडाध्यक्ष गणेशकुमार चौधरीले नगरपालिकाबाट आफूले पाउने मासिक तलब सुविधाबाट पछिल्लो असारदेखि हरिनगरा गाउँको मुसहर बस्तीमा ट्युसन कक्षा सञ्चालन गरेका हुन् । मासिक रूपमा पाउने २२ हजार रुपैयाँ तलबबाट कर कट्टा गरी बाँकी रहेको रकम ७० जना विद्यार्थीका लागि दुईजना शिक्षकको पारिश्रमिकसहित स्टेसनरी र गाउँघरमा भैपरी आउने काममा मानवीय सहयोगका लागि खर्च भइरहेको वडाध्यक्ष चौधरीले बताए ।
घर परिवारको जीविका खेतीपाती, स्टाफको सहयोगमा लहानमा चलाइरहेको साइबर क्याफेको आम्दानीले धानिरहेकाले मुसहर बालबालिकाका लागि आफ्नो तलबभत्ता खर्च गरिरहेको बताए । आर्थिक रूपले अति बिपन्न मुसहरहरूको सघन बसोवास रहेको मलहन्मा गाउँमा समेत ट्युसन कक्षा चलाउने योजना रहेको वडाध्यक्ष चौधरीले सुनाए । नयां पत्रिकाबाट