प्रदेश २ · समाचार

व्यापारी र प्रहरी टोलीबीच विवाद, व्यापारी कुट्ने २ प्रहरी प्रदेशमा तानिए

जनकपुरधाम, २२ जेठ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले एक व्यापारीलाई निर्घात रुपमा कुटपीट गरेको छ ।

जनकपुरको जानकी मन्दिरवाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक श्याम चौधरीलाई निर्घात रुपमा प्रहरीले कुटपीट गरिरहेको भीडियो सामाजिक सञ्जालमा समेत भाइरल भईरहेको छ ।श्यामले आफु पसल सफाई गर्न आएको बताउँदै पसलमा रहेको आफनो बुवा माथि एक प्रहरीले हात उठाएपछि आफू प्रतिवाद गर्दा सोही निहुँमा अन्धाधुन्द लाठी बर्षाउन थालेको बताए । उनले बुवालाई कुटपीट गर्दा आफू पनि आक्रोशमा आएको बताए ।

भाइरल भई रहेको भिडियोमा प्रहरीले व्यापारी साहका साथै अन्य केही व्यक्तिलाई समेत लाठीले प्रहार गरिरहेको देखिन्छ । प्रहरीले व्यापारी श्याम मात्र नभइ बाटो हिडने पैदल र साइकल यात्री माथि पनि लठ्ठी प्रहार गरेको देख्न सकिन्छ । प्रहरीको भ्यान नजिक पुरयाएर श्यामलाई एकजना जवानले अन्धाधुन्द लठ्ठी वर्षाएको समेत देखिन्छ।

यता प्रहरीमाथी नै दुव्र्यवहार हुनुका साथै कुटपीट भएपछि आफूहरुले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले व्यापारी श्याम साहको कुटाईबाट जानकी चौकीका ईन्चार्ज राजाराम यादव घाइते भएको समेत बताउनुभयो । व्यापारी कुटने दुई प्रहरी प्रदेशमा तानिए ।

यसैबीच लकडाउन पालन गराउने समयमा व्यापारीहरुसँग दुव्र्यव्यहार गर्ने दुई जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

लकडाउन पालन गराउने क्रममा जनकपुरधामको जानकी मन्दिर नजिक स्थानीय व्यापारी श्याम चौधरी र उनका वुवा झगरु चौधरीलाई कुटपीट गर्ने प्रहरी प्रदेश प्रहरीमा तानिएको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

लकडाउन पालन गराउने क्रममा प्रहरीकै त्रुटि देखिएपछि दुईजना प्रहरी कर्मचारीलाई प्रदेशमा तानिएको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

स्थानीय व्यापारीलाई कुटने जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दीपक यादवलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रदेश प्रहरीमा तानिएको प्रदेश प्रहरीका प्रमुख डिआईजी सिंहले जानकारी दिनुभयो ।