प्रदेश २ · समाचार

गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार प्रतिवादी पक्राउ।

जनकपुरधाम ८ जेष्ठ। ४ वर्षअघि गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार रहेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७, का ‘चाणक्य’ भनिने विजय यादव छन् ।

यादवले ०७३ फागुन १ गते सिरहाको कल्याणपुर नगरपालिका–८, अरंगका लालु खानलाई गोली प्रहार गरी घाइते बनाएका थिए । खान घाइते भएपछि उनको ना.३८प १३३४ नम्बरको मोटरसाइकलसहित यादव फरार थिए ।

घरमै लुकेको विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट खटिएको प्रहरी निरीक्षक उमेशमान अमात्य नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

यादव त्यस बेला सशस्त्र भूमिगत समूह मधेशी राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का सदस्य रहेको प्रहरी भनाइ छ ।

यादवलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।