शम्भु चौधरी लहान १० चैत्र । विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ। यस दिनको उद्देश्य क्षयरोग टिबी को बारेमा जनचेतना फैलाउनु, यसको रोकथाम र उपचारका उपायहरूबारे जानकारी दिनु, तथा यस रोग उन्मूलनका लागि विश्वव्यापी प्रयासलाई बलियो बनाउनु हो।
मार्च २४, १८८२ मा जर्मन वैज्ञानिक रोर्बट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। यस महत्वपूर्ण खोजको सम्झनामा यो दिनलाई विश्व क्षयरोग दिवसको रूपमा मनाउन थालिएको हो।
क्षयरोग एक संक्रामक रोग हो, जुन प्रायः फोक्सोमा असर गर्छ। यो रोग संक्रमित व्यक्तिको खोकी, हाछ्युँ गर्दा निस्किने साना थोपाबाट फैलिन्छ।
लामो समयसम्म खोकी लागिरहनु, रगत मिसिएको खकार आउनु, तौल घट्नु, ज्वरो र राति पसिना आउनु, थकान महसुस हुनु यसको मुख्उ लक्षण हो ।
क्षयरोग रोकथाम र उपचार गर्न सकिने रोग हो। यसको लागि समयमै परीक्षण गराउनु, चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नु संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट जोगिनु, पोषिलो खाना खानु र स्वास्थ्यकर जीवनशैली अपनाउनु हो ।
विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले टिबी उन्मूलनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। यो अभियानमार्फत २०३० सम्म टिबी अन्त्य गर्ने लक्ष्य राखिएको छ।
विश्व क्षयरोग दिवसले हामीलाई सम्झाउँछ कि टिबी अझै पनि गम्भीर स्वास्थ्य समस्या हो, तर समयमै सचेतना, परीक्षण र उपचारले यसलाई नियन्त्रण गर्न सकिन्छ। सबैले मिलेर प्रयास गरेमा क्षयरोगमुक्त समाज निर्माण गर्न सकिन्छ।