सिरहा लहान – अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले अपाङ्गता भएका करिब १०० जनालाई व्हीलचेयर वितरण गरेको छ।
सिरहाको धनगढीमाई नगरपालिकाको तरकारी बजारमा मङ्गलबार आयोजित कार्यक्रममा फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सम्मान,क्षमता विकास,र सामाजिक सहभागिताको सन्देश फैलाउने उद्देश्यले व्हीलचेयर वितरण गरेको हो।
कार्यक्रमको अध्यक्षता गरेका पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले भने,“अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउन हामीले यस्ता गतिविधि निरन्तर अघि बढाउनेछौं।”
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। उनले भने, “समाजमा समान अवसर सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए।
विशिष्ट अतिथि नगरप्रमुख शिवशंकर महतोले अपाङ्गता भएका नागरिकहरूको हितमा स्थानीय तहले विशेष कार्यक्रम ल्याउने योजना ल्याए बताए।
“समाजलाई समावेशी बनाउने यस्ता कार्यक्रमको निरन्तरता जरुरी छ,” महतोले भने।
अपाङ्गता भएका व्यक्तिहरूले यस सहयोगले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका उनले “हामीलाई सहयोग गर्ने सबैप्रति धन्यवाद छ। यो सहयोगले हामीलाई आत्मनिर्भर बन्न हौसला दिएको छ,” उनीहरूले भने।
“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने नाराका साथ आयोजित कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने प्रयास गरेको छ। पद्मोदय फाउन्डेसनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, सामाजिक र शैक्षिक सशक्तीकरणमा केन्द्रित रहने जनाएको छ।