अर्थ ब्यापार · अर्थनीति · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज · स्थानीय महोत्सव

दशैँ–तिहार उत्सव मेला २०८३ को आम्दानी तथा खर्च विवरण सार्वजनिक

शम्भु चौधरी, लहान १५ कार्तिक । थारू कल्याणकारिणी सभा सिरहाले आयोजना गरेको ‘दशैँ–तिहार उत्सव मेला २०८३’ को आम्दानी तथा खर्च विवरण आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

२०८३ असोजको २७ गते देखि कार्तिकको ८ गते सम्म संचालन भएको मेलाको आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले विवरण सार्वजनिक गरिएको मेला प्रवक्ता अजय चौधरीले बताए।

प्रवक्ता चौधरीका अनुसार जम्मा आम्दानी ४८ लाख २५ हजार र खर्च ४४ लाख ८५ हजारको रहेको सम्मेलन मार्फत बताएका छन ।

मेलाको आयोजना, व्यवस्थापन तथा सञ्चालनका क्रममा विभिन्न स्रोतबाट प्राप्त आम्दानी र भएका खर्चको विवरण सार्वजनिक गरिएको हो। यसबाट मेलाको आर्थिक गतिविधिबारे सर्वसाधारण, सहयोगदाता तथा सरोकारवालालाई जानकारी गराउने अपेक्षा गरिएको छ।

थाकस सिरहाले सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव कायम राख्दै थारू समुदायको कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव मेला २०८३ को आयोजना गरिएको आयोजक समितिका सभापति सत्यनारायण चौधरीले बताए ।

सभाले सार्वजनिक गरेको आय–व्यय विवरणले संस्थागत पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने विश्वास लिएको छ।

थाकस सिरहाले मेलालाई सफल बनाउन सहयोग, साथ र सहभागिता जनाउने सम्पूर्ण संघसंस्था, व्यवसायी, सहयोगदाता, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणप्रति आभार व्यक्त गरेको छ।

सार्वजानीक कार्यक्रममा थाकस का जिल्ला पदाधिकारीहरु, क्षेत्रीय पदाधिकारीहरु,नगर पदाधिकारीहरु तथा वडा पदाधिकारीहरुको समेत उपस्थिती रहेका थियो ।