अर्थ ब्यापार · अर्थनीति · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्थानीय महोत्सव

स्थानीय उत्पादनको बजार विस्तारदेखि अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विकाससम्मको लक्ष्यसहित लहान एक्स्पो २०८३ सञ्चालन हुँदै

शम्भु चोधरी,लहान १३ कार्तिक । स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विकास गर्ने उद्देश्य सहित लहान एक्स्पो २०८३ सञ्चालन शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन।

स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन तथा हस्तकलाका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुन लागेको एक्स्पोमा १ सय ५० वटा स्टल रहने आयोजक संस्था जिल्ला उधोग वाणिज्य संध लहान सिरहाका अध्यक्ष प्रदिप कुमार गुप्ताले बताए ।

पुस २४ गते देखि माघको ४ गते सम्म संचालन हुने एक्स्पो मार्फत करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने र डेढ लाख दर्शक तथा अवलोकनकर्तालाई सहभागी गराउने लक्ष्य राखिएको छ। यसले स्थानीय व्यवसायी, उद्यमी, कृषक तथा उत्पादकलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बजारीकरणका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा स्थानीय तथा राष्ट्रियस्तरका उद्योगी, व्यवसायी, उत्पादक, व्यापारी र विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागिता रहनेछ। विशेषगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि उपज, घरेलु तथा साना उद्योगका सामग्री, हस्तकला, खाद्यवस्तु, लत्ताकपडा तथा विभिन्न व्यावसायिक उत्पादनको प्रदर्शनी गरिने बताइएको छ।

आयोजकका अनुसार एक्स्पो केवल व्यापारिक प्रदर्शनीमा सीमित नभई स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने, नयाँ बजार खोज्ने, लगानीको वातावरण निर्माण गर्ने र स्वदेशी तथा विदेशी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, एक्स्पोले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा लहान र आसपासका क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय पहिचानलाई थप उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

लहानको पहिचान, व्यापारको नयाँ अभियान नारासंगै स्थानीय उत्पादनको बजारीकरणदेखि अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारसम्मको महत्वाकांक्षी लक्ष्य बोकेको लहान एक्स्पो २०८३ ले व्यापार, पर्यटन र उद्यमशीलताको विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

यस एक्सपोलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको जिल्ला उधोग वाणिज्य संघ केन्द्रिय सदस्य विकास शारडा बताए ।