नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार · साहित्य

शिक्षकको योगदान प्रति सम्मान व्यक्त गर्दै आज विश्व शिक्षक दिवस

लहान, १९ असोज । आज अक्टोबर ५ अर्थात् विश्व शिक्षक दिवस। शिक्षाको क्षेत्रमा शिक्षकले पुर्‍याउँदै आएको योगदान, भूमिका र समर्पणको सम्मान गर्दै हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ।

‘शिक्षक’ केवल पाठ पढाउने व्यक्ति नभई विद्यार्थीको भविष्य निर्माण गर्ने मार्गदर्शक भएकाले विश्व शिक्षक दिवसले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ।

शिक्षक दिवसको अवसरमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा शिक्षक सम्मान, अन्तरक्रिया, शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम तथा शैक्षिक गतिविधि सञ्चालन गरिँदै आएको छ। विद्यार्थीको ज्ञान, सीप, क्षमता र चरित्र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका रहने भएकाले शिक्षकलाई समाज परिवर्तनका प्रमुख आधारका रूपमा लिइन्छ।

विश्व शिक्षक दिवसले शिक्षकका अधिकार, मर्यादा, व्यावसायिक विकास तथा गुणस्तरीय शिक्षामा उनीहरूको योगदानलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने सन्देशसमेत दिने गरेको छ।

नेपालमा पनि विभिन्न विद्यालय तथा शैक्षिक संस्थाले शिक्षक दिवसका अवसरमा शिक्षकहरूलाई सम्मान तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेका छन्। शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकलाई आवश्यक स्रोत–साधन, तालिम, उचित कार्य वातावरण र सम्मान प्रदान गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।