सिरहा १२ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहमा उम्मेदवारी दिने आकांक्षीले बुझाउनु पर्ने मनोनयन शुल्क निर्धारण गरिएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिका पदमा उम्मेदवारीका लागि शुल्क तय गरेको हो।
केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिका अनुसार केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ३० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ भने उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ।
त्यस्तै सहमहामन्त्री पदका आकांक्षीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ।
महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुने केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीले भने ३ हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ।
