सिरहा १२ असोज । नेपाली कांग्रेसमा दुई समुह एउटा गगन समुह र अर्को देउवा समुह जसमा देउवा समूह अन्तर्गत सिरहामा महाधिवेशन प्रक्रिया अघि बढाउने तथा जिल्ला संयोजकको जिम्मेवारी सन्तोषकुमार चौधरीलाई दिइएको छ।
पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा महाधिवेशन सम्बन्धी गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले चौधरीलाई जिम्मेवारी दिइएको बताइएको छ। जिम्मेवारी पाएसँगै चौधरीले जिल्लाका नेता तथा कार्यकर्तासँग समन्वय गर्दै महाधिवेशनका आवश्यक तयारी अघि बढाउने भएका छन्।
महाधिवेशनको मिति असोज १५ गते तोकिएको लहान नगरपालिका वडा नं २ का वडा अध्यक्ष सियाराम यादवले बताए ।
महाधिवेशनलाई निर्धारित प्रक्रिया र समयसीमाभित्र सम्पन्न गर्न वडा, पालिका तथा जिल्ला तहका नेता–कार्यकर्ताबीच आवश्यक समन्वय र सहकार्य गर्ने तयारी रहेको जनाइएको छ।
चौधरीले पार्टीको विधान, प्रक्रिया र नेतृत्वसँगको समन्वयमा महाधिवेशन सम्बन्धी कामलाई अगाडि बढाउने बताएका छन्। उनले संगठनलाई थप व्यवस्थित बनाउँदै कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
सिरहामा कांग्रेस भित्रको आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला चौधरीलाई दिइएको यो जिम्मेवारीलाई जिल्लाको संगठनात्मक गतिविधिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
महाधिवेशनको तयारीसँगै जिल्लाका विभिन्न तहमा संगठन विस्तार, कार्यकर्ता परिचालन र नेतृत्व चयनका विषयमा समेत छलफल अघि बढ्ने अपेक्षा गरिएको छ ।
