लहान २३ कार्तिक। सिरहाको लहान नगरपालिका १५ बानो गाउँस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकप सोमबारदेखि सुरु भएको छ ।
पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको छ ।
समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो । पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता कल्बको खेलाडीले गोल गरेका थिए ।
फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।
खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तवयको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने बताएका थिए ।
समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो । उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडिं बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।