धनुषाधाम २१ असाेज । माओवादीले ५ मन्त्री र एक राज्यमन्त्रीकाे भाग पाएको छ । उसले यसअघि नै पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाइसकेको छ । अब देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराज मन्त्री बन्न लागेका छन् । त्यस्तै, बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाउन पार्टीले सिफारिस गरेकाे छ । यद्यपि, उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।
यादव माओवादीको समानुपातिक सांसद् हुन् । उनी धनुषाकी हुन् । उनकाे अर्को परिचय भनेकाे उनी ’जनयुद्ध’को तयारीको क्रममा मारिएका रामवृक्ष यादवकी छोरी हुन् । तत्कालीन संयुक्त जनमोर्चाको केन्द्रीय समितिमा रहेका रामवृक्ष यादवको २०५१ भदौ २ मा धनुषाको सबैलामा हत्या भएको थियो । उनी ‘मास्टर साहेब’को उपनामले पनि चिनिन्थे।
‘हाम्रा माननीय’ पुस्तकमा उल्लेख भए अनुसार, बोधमाया २०४४ सालमा अखिल छैटौंको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आबद्ध भएकी थिइन् । उनी २०५८ मा तत्कालीन नेकपा माओवादीनिकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी थिइन्।
त्यस्तै, २०६० मा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह-सेक्रेटरी, २०६८ सालमा तत्कालीन एनेकपा माओवादीको केन्द्रीय सदस्य, २०७० मा माओवादीकै पोलिटब्युरो सदस्य बनेकी थिइन्।
वि.सं. २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपामा उनी केन्द्रीय कमिटी सदस्य थिइन् । उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सदस्य पनि हुन् ।
बोधमाया २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म नजरबन्दमा समेत परेकी थिइन्। लामाे राजनीतिक संघर्षपछि नेतृत्वमा पुगेकी उनकाे पार्टीमा ठूलाे याेगदान रहेकाे छ । जसकाे कदर गर्दै पार्टीले उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकाे छ । जुन मन्त्रालयले उनलाई राज्यमन्त्रीकाे रूपमा पाउँछ उसले अब्बल र सफल नेतृत्व पाउनेछ । बाेधमायाले मन्त्री पाउने भन्दा पनि सहिद रामवृक्ष यादवकाे सम्मान भएकाे अाम धनुषाबासीकाे बुझाई छ ।