लहान १० भदौ । बुधबार ट्राफिक प्रहरीले लहानको बस बुकिङ्ग काउण्टरबाट सरसमान लगायत काउन्टरको फ्लेक्सबोर्ड समेत जर्वजस्ती हटाएका छन् । काउण्टरका समान हटाउने क्रममा त्यहाँ काम गर्ने बुकिङ्गहरुलाई समेत इलाका प्रहरी कार्यालय लहानमा लगिएको थियो ।
यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिबार ट्राफिक प्रहरी र नगर प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ ।

बजार एरियाबाट नयाँ बस पार्कमा काउण्टर सार्ने विषयमा विवाद सुरु भएको देखिएको छ । बस व्यावसायी, प्रहरी र नगरपालिकाबीच असार ३० गते साउन २ गते सम्ममा काउण्टर सार्ने सहमति भएको जनाएको छ । तर, काउण्टर नसारेपछि सरसमान लगिएको प्रहरीको भनाई छ । सहमति कार्यान्वयन गराउने सन्दर्भमा विवाद देखिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन कुमार दाहालले बताए ।
सहमति अनुसार काम नभएको देखिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीले सरसमान उठाएको ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर दान बहादुर मिरिङ्गचिङ्गले बताए ।