संजय कुशवाहा / नवलपरासी ,८ असाेज।तिन दिनदेखि परेको अविरल बर्षाका कारण पश्चिम नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।
सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको हो । वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् ।
तिन दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।
डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडाैना ,मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल,पुसाैलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरकाे पप्पु चाैधरीकाे घर भत्केको स्थानीय धनपाल चाैधरीले जानकारी दिए ।
घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा ,आवस्यक कागजात भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।
झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो। साे क्षेत्र डुबान हुँदा हाटबजारकाे समस्या तथा बिरामी पर्दा एवम् सुत्केरी हुदा डुङ्गाबाट गाउँ बाहिर जानुपर्ने अवस्था रहेकाे खडाैना निवासी लक्ष्मिकान्त चाैधरीले जानकारी दिए ।
जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको दिपक क्षेत्रीले बताएका हुन । गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटाे तथा खेतमा जलमग्न भएकोले खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।
घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ की सिन्धुलि कुर्मीले बताइन् । यस्तै मैनुदिन चुरिहार भन्नुहुन्छ पानीको कारणले गर्दा सर्प तथा किरा फट्याङ्ग्रा बढेकाे र बाढिकाे चपेटामा पर्दा धेरै समस्या भएको छ ।
वर्षाले बहाव बढ्दै गएपछि अासपासका गाउँ त्रासमा रहेका छन । पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।
साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।