शम्भु चौधरी लहान, मंसिर २३ । लहान ११ पडरिया वैठार चौकमा स्थानीय कृषि हाट बजार सञ्चालनमा आएको छ । आज दोस्रो हाटको दिन अत्यन्तै भीडभाडका साथ सम्पन्न भएको छ। हप्ताको दुई दिन मंगलबार र शनिवार सञ्चालन हुने हाट बजारमा बिहानदेखि नै कृषक तथा स्थानीय उपभोक्ताहरूको बाक्लो भीड देखिएको थियो।
गाउँघरमै उत्पादन भएको ताजा तरकारी तथा घरायसी परिकार सस्तो दरमा उपलब्ध भएपछि किसान र खरिदकर्तामा दुवैमा खुसी झनै बढेको देखियो। स्थानीय किसानहरूले आफ्नै श्रम र मिहिनेतले उत्पादन गरेका तरकारी, फलफूल तथा कोशेली सामान बजारमै ल्याएर बिक्री गर्दै आएका छन्। बजारमा आएका उपभोक्ताहरूले साँच्चिकै ताजा, सस्तो र स्वदेशी उत्पादन पाउने अवसर पाएका छन् भने कृषकहरूलाई पनि आफ्ना उत्पादनको उचित मूल्य प्राप्त हुँदै आएको छ। एक जना किसान समतलाल सहाले बताए ।
उक्त बजारमा थारू समुदायको परम्परागत घरायसी खानेकुरा प्रमुख आकर्षण बनेको छ। बगिया, भाका, सिधरा, घोघी, भक्का जस्ता थारू खाजा परिकारहरूको स्वाद लिन पनि टाढाटाढाबाट मानिसहरू आउने गरेका छन्। कृषकले खेतमा उत्पादन गरेका घिरौँला, भिण्डी, साग, मुला, कन्दा, सिम लगायतका तरकारी तथा मौसमी फलफूल सिधै ग्राहकलाई उपलब्ध गराउँदै आएका छन्। स्थानीय उपभोक्ताहरूले भने, “बजार नगरमा जानु भन्दा यहीँ सबै कुरा पाइन्छ, सस्तो ,ताजा र अरज्ञानिक तरकारी ।
हाम्रो पैसाको पनि बचत हुन्छ, समय पनि।” बजार क्षेत्रमा किसान र उपभोक्ताको भीड देखिँदा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको अनुभूति गरेको जनहितशीलले बताए। हाट बजारलाई व्यवस्थित र सुरक्षित बनाउन वडा कार्यालयले पनि आवश्यक सहयोग गर्ने जनाएको छ। साथै, हाट बजारले गाउँघरको उत्पादनलाई व्यवस्थित बजार व्यवस्थापन दिँदै युवालाई आत्मनिर्भर बन्न प्रेरित गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष सबुर कुमार चौधरीले बताए ।
बजारमा बजार व्यवस्थापन समिति, सुरक्षा स्वयंसेवक तथा स्थानीयको सक्रियतामा भीडभाड भए पनि शान्त र अनुशासित वातावरण देखिन्थ्यो। लाहान नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषकको आयवृद्धि र स्वदेशी उत्पादनको उपभोगलाई प्राथमिकतामा राख्दै हाट बजारलाई निरन्तरता दिने योजना अघि सारेको छ। यसरी, दोस्रो दिनमै उत्साहजनक भीड र कारोबारले वैठार चौकको हाट बजार स्थानीय समृद्धिको केन्द्र बन्ने संकेत गरेको देखिन्छ।
हाट बजार व्यवस्थापनका लागि सबुर कुमार चौधरीको संयोजकमा ९ सदस्यीय समिति गठन गरिएको छ। अन्य सदस्यहरूमा क्रमशः दियेन्द्र प्रसाद चौधरी, विजय आनन्द चौधरी, तुल्सी राम चौधरी, मनोरंजन चौधरी, महावीर चौधरी र जिनन चौधरी रहेका छन्। उनीहरूकै पहलमा बजार व्यवस्थापन, सरसफाई तथा भुक्तानी व्यवस्थामा सहजता आएको स्थानीयहरूले बताएका छन्।