नेपाल पोस्ट दैनिक बिशेष · समाचार · सामाज

सेवा निवृत्त शिक्षक चौधरीद्वारा रविदास समुदायलाई लाखौको जग्गा दान

शम्भु चौधरी लहान २२ जेठ । सेवा निवृत्त शिक्षक काशीलाल चौधरीले समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै रविदास सेवा समिति धनगढीमाई न पा २ भवानीपुरलाई लाखौ पर्ने चार धुर निजी जग्गा दान गरेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका–२, भवानीपुर निवासी चौधरीले आफ्नो निजी जग्गा समितिका अध्यक्ष जोगिन्द्र रामलाई विधिवत् रूपमा लालपुर्जा सहित हस्तान्तरण गरेका हुन् । उक्त जग्गा हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी राम आशिष रायको विशेष पहल रहेको जनाइएको छ । समाजसेवी राय २०४३ देखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । राय जहिले पनि अरुको भलो चाहने कार्यका लागी रहेको हुन्छ ।

भवानीपुर स्थित चमार समुदायको बसोबास रहेको बस्तीमा हाल करिब ८२ घरधुरी छन्, जसमा अधिकांश परिवारसँग निजी जग्गा छैन। यस कारण उनीहरू लामो समय देखि सरकारी जग्गामा आश्रित भएर जीवन आपन गर्दै आएका छन् । यस टोलका मुसहर, तेलि, बि क, पहाडी तथा थारु जातीका समुदायहरुको बसोबास रहेका छ ।

चौधरीको यो योगदानले समुदायको सशक्तीकरण तथा समानताको पक्षमा महत्वपूर्ण सन्देश दिएको स्थानियहरूले बताएका छन् । वहाँ मोरङको दागरबैरीया स्थित किसान निमावि विद्यालयबाट ६ वर्ष अगाडी सेवा निवृत्त भएका हुन ।
रबिदास सेवा समितिका अध्यक्ष रामले जग्गा दानप्रति आभार प्रकट गर्दै उक्त सम्पत्ति सामाजिक भवन निर्माण तथा सामुदायिक प्रयोजनमा प्रयोग गरिने जानकारी दिएका छन्

भवन निर्माणको लागी वडामा योजना राखी सकेको साथै निर्माण हुने भवनमा अरु अरु समुदायले पनि आफना कार्यको लागी निर्धक रुपमा प्रयोग गर्न सकिने अध्यक्ष रामले बताए ।