अन्तर्राष्ट्रिय · देश बाहिर · नेपाल पोस्ट दैनिक बिशेष

तीन दिने भ्रमणका लागि आज श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं, ४ पुस । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्ने छन् ।

बैठकमा नेपाल–श्रीलंका सम्बन्धका सबै आयामहरूमा छलफल र समीक्षा गरिने बताइएको छ । नेपाल भ्रमणका बेला श्रीलंकाका विदेश मन्त्रीले परराष्ट्रमन्त्री साउदसँग छुट्टै भेटवार्ता गर्ने मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा श्रीलंका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । उनी पुस ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । दैनिक नेपालबाट