नबिन यादव असार १६ राजविराज/राजविराजमा गठित मानवअधिकार निगरानी समूहले आफ्नो बैठक खर्च एक बिपन्न पत्रकार परिवारलाई उपचारका लागि प्रदान गरेको छ।
शिक्षा,स्वास्थ्य ,खाद्य र आवासको अधिकार संरक्षणका लागी अनौपचारिक स्वा केन्द्र (इन्सेक)द्वारा गठित निगरानी समूहको बैठकको चियानस्ता खर्च बापत जम्मा भएको पाँच हजार रुपैयाँ राजविराज -९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो।
इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गर्नुभयो । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गर्नुभयो ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनु भयो । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उहाँले जानकारी दिनु भयो । उहाँका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।
गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उहाँको श्रीमानको मृत्युपछि असहाय बन्नुभएको स्थानीय फुलेश्वरीदेबी मेहताले बताउनु भयो । इन्सेक सप्तरीको प्रतिनिधीको कार्यालयमा गत असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उहाँको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिनु भयो ।
