धरान सम्वाखाता, १० असोज । धरानउपमहानगरपालिका ११ स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले आवश्यक शिक्षकको व्यवस्था गर्न माग गर्दै बिहीबार धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।
विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था गर्न विगत तीन वर्षदेखि माग गर्दै आए पनि समस्या समाधान नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
विद्यार्थीहरूले विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित भइरहेको जनाउँदै आफ्ना शैक्षिक समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन्। उनीहरूले विद्यालयमा आवश्यक विषयका शिक्षकको व्यवस्था गरी नियमित तथा प्रभावकारी पठनपाठनको वातावरण बनाउन उपमहानगरपालिकासँग आग्रह गरेका छन्।
यता विद्यार्थीहरूको आन्दोलन तनावग्रस्त बन्दै गएको अवस्थामा नगरका प्रमुख प्रशासकीय अधिकृतले धरानका ज्ञानोदय र सरस्वतीका प्रधानाध्यापकहरूसँग छलफल गरी तीन दिनभित्र शिक्षक ल्याउने सर्तमा लिखित सहमति गरेको नगरपालिकाले जनाएको छ।
तर, हिजोदेखि आमरण अनशनमा रहेका बाल सञ्जालका अभियन्ता तथा स्वयं अनशनमा बस्नुभएका रोजन शंकरज्यूले आफूहरूलाई कुनै जानकारी नदिई उक्त सहमति गरिएको भन्दै त्यसमा आफ्नो कुनै पनि सहमति नरहेको स्पष्ट पार्नुभएको छ।
शिक्षकको माग गर्दै उपमहानगरपालिका घेराउ
Nepal Post
•
