नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्वास्थ्य

लक्ष्मीनीया आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

शम्धु चौधरी,लहान, १० भदौ । लहान नगरपालिका ११ लक्ष्मनियाँ गाउँमा नवनिर्मित लक्ष्मीनीया आधारभूत स्वास्थ्य सेवा केन्द्रको बुधबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। नगर प्रमुख महेश प्रसाद चौधरी र वडा अध्यक्ष सूर्य नारायण चौधरीले संयुक्त रूपमा भवनको उद्घाटन गरेका छन।
उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले लामो समयदेखि भाडाको भवनबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुँदै आएकाले स्थानीयलाई सेवा प्रवाहमा कठिनाइ हुँदै आएको बताए। आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि स्थानीयवासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनले बताए। लहान नगर अस्पताल पनि केही दिनभित्र सञ्चालनमा आउने तयारीमा रहेको उल्लेख गर्दै नगर प्रमुख चौधरीले यसले नगर क्षेत्रको स्वास्थ्य सेवामा थप सुधार ल्याउने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष सूर्य नारायण चौधरीले आफू निर्वाचित भएलगत्तै लक्ष्मनियाँको चौबाटो किनारमा झाडी तथा फोहोरले भरिएको पोखरीको डिलमा सुविधा सम्पन्न स्वास्थ्य सेवा केन्द्र निर्माण गर्ने अठोट लिएको बताए। पहिलो पटक–बिस लाखको डिपिसि दोस्रो पटक ३५ लाखको भवन र फेरी बिस लाखको वाल बाण्ड्री गरी कुल ७५ लाख रुपैयाँ बजेटबाट भवन निर्माण गरिएको बताए ।
वडा अध्यक्ष चौधरीका अनुसार केन्द्रबाट लक्ष्मनियाँसहित आसपासका ग्रामीण बस्तीका नागरिकलाई समेत नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउन वडा कार्यालयको बजेटबाट ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल,ब्याग तथा छाता वितरण गरेको छ। साइकल तथा ब्याग प्राप्त गर्नेमा बिनिता कुमारी साह, सबिना चौधरी, गीता चौधरी, गंगा चौधरी, सरियार चौधरी र असमन चौधरी रहेका छन्।
कार्यक्रममा लहान नगरपालिका–२० का वडा अध्यक्ष गणेश चौधरीले नगर प्रमुख महेश प्रसाद चौधरीको कार्यकालमा शिक्षा, स्वास्थ्य तथा रोजगार क्षेत्रमा भएका कामको प्रशंसा गर्दै गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिका सक्रिय रहेको बताए। नवनिर्मित भवन सञ्चालनमा आएसँगै लक्ष्मनियाँ तथा आसपासका बस्तीका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।