शम्भु चौधरी लहान, २६ असोज । लहान नगरपालिकाद्वारा नवनिर्मित दुर्गा मन्दिरको उद्घाटन लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र सम्बन्धित वडा ७ का वडा अध्यक्ष रामअवतार शर्माद्वारा संयुक्त रुपमा आईतबार घटस्थापनाको दिन सम्पन्न भएको छ।
धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा निर्माण गरिएको उक्त दुर्गा मन्दिरको उद्घाटनसँगै स्थानीयवासीमा खुसी छाएको छ। मन्दिर निर्माणले स्थानीय धार्मिक परम्परा, संस्कृति तथा सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दुर्गा मन्दिर स्थानीय बासिन्दाको धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण स्थल भएकाले यसको निर्माणले पूजापाठ तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। साथै, यसले स्थानीय समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको भावना अझ मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लहान नगरपालिकाद्वारा गरिएको यस निर्माण कार्यलाई स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। मंदिर निर्माण कार्यमा ४ करोड ७० लाख रकम लागेको नगर प्रमुख चौधरीले बताए ।
मन्दिर उद्घाटनसँगै स्थानीयवासीले नवनिर्मित दुर्गा मन्दिरबाट धार्मिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन्।
