कपिलवस्तु १३ असोज । प्रोत्साहन भत्ताको व्यवस्थामा स्थायी र अस्थायी शिक्षक तथा कर्मचारीबीच विभेद गरिएको भन्दै नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ कपिलवस्तुले आपत्ति जनाएको छ।
महासंघ कपिलवस्तु शाखाका अध्यक्ष रमेश कुमार त्रिपाठीले बजेट वक्तव्यमा सबै प्रकारका कर्मचारीले प्रोत्साहन भत्ता पाउने उल्लेख गरिए पनि कार्यान्वयनका क्रममा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई छुटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
त्रिपाठीका अनुसार बजेट वक्तव्यमै अस्थायी प्रकृतिका सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध नगराइने स्पष्ट गरिएको भए त्यसअनुसार आफ्नो धारणा बनाउन सकिने थियो। तर बजेटमा सबै कर्मचारीले पाउने भनिएपछि कार्यान्वयनका क्रममा सेवा स्थायित्वका आधारमा मात्रै प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायोचित नभएको उनको भनाइ छ।
“कार्यसम्पादनको स्पष्ट मापदण्डबिना सेवाको प्रकृतिका आधारमा स्थायी र अस्थायी कर्मचारीबीच प्रोत्साहन भत्तामा विभेद गर्नु श्रमको अपमान हो,” त्रिपाठीले कपिलवस्तु टाइम्सलाई भने।
उनले सरकारले कार्यसम्पादनलाई आधार बनाएर सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई समान रूपमा प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था तत्काल गर्न माग गरेका छन्।
सरकारले माग सम्बोधन नगरे देशभरका अस्थायी शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत त्रिपाठीले दिएका छन्। उनका अनुसार समान काम गर्ने श्रमिकबीच सेवा प्रकृतिका आधारमा गरिने विभेद अन्त्य गरी प्रोत्साहन भत्ताको व्यवस्था न्यायोचित र पारदर्शी ढंगले कार्यान्वयन गरिनुपर्छ।
